काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीको साधारण सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। उनले सोमबार एक विज्ञप्ति जारी गर्दै महामन्त्री पदलगायत पार्टीका सबै तहका जिम्मेवारीबाट आजैका मितिदेखि अलग भएको जानकारी दिएका हुन्।
विज्ञप्ति जारी गर्दै पाठकले राप्रपाको केन्द्रीय नेतृत्वमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटगत निजी स्वार्थको तिक्त सङ्घर्ष झन् झाङ्गिँदै गएको गुनासो गरेका छन्। ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने कठोर नारा बोकेको पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शिताको ठूलो अभाव देखिएको उनले उल्लेख गरेका छन्।
नेतृत्वको शैली र आन्तरिक किचलोका कारण नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवाहरूलाई पार्टीमा आकर्षित गर्न नसकिने स्थिति बनेको पाठकको ठहर छ। आफू लगायत नयाँ जोडिएका नेता–कार्यकर्ताहरूले विद्यमान अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना नदेखेपछि अलग हुने निर्णयमा पुगेको उनले स्पष्ट पारेका छन्। यद्यपि, राप्रपाका तल्ला तहमा रहेका अनगिन्ती कार्यकर्ताहरूको निष्ठा र प्रतिबद्धता भने प्रेरणादायी रहेको उनले टिप्पणी गरे।
पाठक तत्कालीन विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्रसँगै राप्रपामा समायोजन भई आएका थिए। उनको बहिर्गमनलाई राप्रपाभित्रको वैचारिक तथा आन्तरिक असन्तुष्टिको परिणामका रूपमा हेरिएको छ।