काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशनको मिति सार्न प्रस्ताव गरेका छन्।
शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले विपद्बाट प्रभावित जिल्लामा अहिले पार्टीका नियमित राजनीतिक कार्यक्रमभन्दा उद्धार, राहत र प्रभावित नागरिकको सहयोगलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन्।कांग्रेसले यसअघि भदौ २४ गते वडा अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। तर, बाढी तथा पहिरोबाट प्रभावित जिल्लामा उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँको अधिवेशन तालिका पुनरावलोकन गर्नुपर्ने प्रस्ताव सभापति थापाले अघि सारेका छन्।थापाका अनुसार रसुवा, नुवाकोट र धादिङमा अहिले पनि धेरै परिवार आफन्तको खोजी, घरबास र जीविकोपार्जनको चिन्तामा छन्। यस्तो अवस्थामा वडा अधिवेशनजस्तो राजनीतिक गतिविधि सञ्चालन गर्न व्यवहारिक कठिनाइ रहेको उनको भनाइ छ।उनले कांग्रेसको १५औँ महाधिवेशन भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ गतेदेखि काठमाडौंमा सुरु हुने स्पष्ट पारेका छन्। महाधिवेशनको मिति परिवर्तन गर्न नसकिने भए पनि विपद् प्रभावित जिल्लाका तल्लो तहका अधिवेशनलाई परिस्थितिअनुसार पछि सार्न सकिने उनको प्रस्ताव छ।बैठकमा प्रभावित जिल्लाको नयाँ अधिवेशन तालिका तथा विपद्को समयमा कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाबारे समेत छलफल भइरहेको जनाइएको छ।