काठमाडौं ।नुवाकोटको विदुर नगरपालिका–१० त्रिशूली बजारमा घरभित्र पुरिएको अवस्थामा प्रहरीले एक व्यक्तिको शव फेला पारेको छ।
बाढी आएको १२ दिनपछि उद्धार तथा खोजीका क्रममा फेला परेको शव करिब ४५ वर्षीय राजेश जोशीको रहेको पुष्टि भएको नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिएका छन्।विदुरबाट त्रिशूली नदीपारिको क्षेत्रमा डीएसपी हिरेन्द्र रोकायाको नेतृत्वमा सुरक्षाकर्मीले खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। उद्धारमा संलग्न सुरक्षाकर्मीका अनुसार मृतकको हातमा रहेको ट्याटुका आधारमा उनको पहिचान गर्न सहज भएको हो। नाडीमा पत्नीको नाम ‘दीपिका’ लेखिएको भेटिएपछि शव राजेश जोशीको भएको खुलेको बताइएको छ।जोशी परिवारका एउटै घरका पाँच जना सदस्य बाढीमा परेपछि सम्पर्कविहीन भएका थिए। खोजीका क्रममा सोही क्षेत्रमा घरभित्र अर्को शवसमेत फेला परेको थियो।प्रहरीका अनुसार उक्त शव सरिता जोशीको रहेको पुष्टि भएको छ। बाढीपछि हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।