काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनको मिति करिब एक साता पछाडि सार्ने तयारी गरेको छ।
यस विषयमा पार्टीको कार्यसम्पादन समितिको बैठकमा छलफल हुने भएको छ। सभापति गगन थापाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन्। केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति भने यथावत् राख्ने गरी तल्लो तहका अधिवेशनको तालिका हेरफेर गर्ने तयारी भइरहेको बताइएको छ।कांग्रेसले १५औँ महाधिवेशन आगामी १६ देखि १९ असोजसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै गरिसकेको छ। वडा अधिवेशन आगामी बुधबार गर्ने गरी कार्यतालिका तय गरिएको थियो।तर पछिल्लो समय आएको बाढी, वर्षाका कारण सडकमार्गमा देखिएको अवरोध, पार्टीभित्र भइरहेको आन्तरिक छलफल तथा हरितालिका तीजलाई ध्यानमा राख्दै वडा अधिवेशन केही दिन पछाडि सार्ने तयारी गरिएको एक नेताले बताएका छन्।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहतका काममा पार्टीका नेता–कार्यकर्तालाई परिचालन गर्ने निर्णय कांग्रेसले गरेको थियो। बाढी र त्यसपछिको वर्षाका कारण विभिन्न स्थानका सडक अवरुद्ध भएकाले अधिवेशनमा आवतजावतसमेत प्रभावित हुन सक्ने कांग्रेसको आकलन छ।यस्तै, महाधिवेशनलाई सहमतिमा सम्पन्न गर्ने प्रयासस्वरूप पार्टीभित्र विभिन्न पक्षबीच संवादसमेत जारी रहेको बताइएको छ। संस्थापन पक्षले पूर्वउपसभापति पूर्णबहादुर खड्का तथा नेता डा। शेखर कोइरालासँग छलफल अघि बढाइरहेको जनाइएको छ।यसैबीच, तल्लो तहको अधिवेशनको प्रस्तावित कार्यतालिका हरितालिका तीजसँग पनि जुधेको छ। यस वर्ष तीज २९ भदौमा परेको छ। पूर्वनिर्धारित तालिकाअनुसार २७ भदौमा गाउँरनगर अधिवेशन र ३१ भदौमा प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम छ।कांग्रेसभित्र महाधिवेशनको मितिलाई लिएर मतभेदसमेत देखिएको छ। एउटा पक्षले महाधिवेशन मंसिरमा गर्नुपर्ने धारणा राख्दै आएको छ भने संस्थापन पक्ष भने १६ देखि १९ असोजकै मितिमा महाधिवेशन सम्पन्न गर्ने तयारीमा छ।यद्यपि, अदालतमा विचाराधीन पुनरावलोकनसम्बन्धी मुद्दा र पार्टीभित्रको सहमतिको अवस्थाले महाधिवेशनको अन्तिम कार्यतालिकामा प्रभाव पार्न सक्ने नेताहरूको भनाइ छ।