विराटनगर । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको नीति तथा निर्णय विपरीत कार्य गरेको भन्दै कोशी र लुम्बिनी प्रदेशका ५ जना प्रदेश सभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। ललितपुरको बालकुमारीमा भदौ १६ देखि १८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।
कारबाहीमा पर्नेहरूमा लुम्बिनी प्रदेशका सांसदहरू सन्तोष कुमार पाण्डेय, हेमा वेल्वासे के.सी., भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाल रहेका छन्। लुम्बिनीका चारै जना सांसदहरूले पार्टीको आधिकारिक निर्णय विपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको र सरकारमा सहभागी भएको आरोपमा कारबाही गरिएको हो। यस्तै कोशी प्रदेशकी सांसद निर्मला लिम्बूलाई पनि पार्टी निर्देशन उल्लङ्घन गरेको भन्दै कारबाहीको प्रक्रियामा राखिएको छ। जसपा नेता मनिष सुमनका अनुसार लिम्बूलाई हाल स्पष्टीकरण सोध्ने निर्णय भएको र चित्तबुझ्दो जवाफ नआए सांसद पदबाटै हटाइनेछ। उनी पार्टी विभाजनका क्रममा अशोक राई नेतृत्वको पक्षमा उभिएकी थिइन्।
यसैबिच, केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश सांसदहरूलाई मात्र नभई गत निर्वाचनमा पार्टीको नीति र विधान विपरीत कार्य गर्ने दुई दर्जनभन्दा बढी स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्ताहरूलाई पनि साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षता र संरक्षक महन्थ ठाकुरको उपस्थितिमा बसेको उक्त बैठकले पार्टीभित्रको अनुशासनलाई कडाइका साथ लागू गर्ने स्पष्ट सन्देश दिएको छ। कारबाहीमा परेका प्रदेश सभा सदस्यहरूको पद रिक्त गराउनका लागि सम्बन्धित प्रदेश सभा सचिवालयहरूमा छिट्टै पत्राचार गरिने जसपाले जनाएको छ।
a