काठमाडौँ । गृह मन्त्रालयले १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना वरिष्ठ अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दोलखा, पर्वतलगायतका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्।
मन्त्रालयको निर्णयानुसार सहसचिव श्रवण कुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ भने झापाका बहालवाला सीडीओ शिवराम गेलाललाई गृह मन्त्रालयमा तानिएको छ। यसैगरी सहसचिव महेन्द्र कुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्र कुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई दोलखा, गंगा बहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मी प्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।
यसैगरी सहसचिव ऋषिराम तिवारीलाई लागू औषध नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ। उता रौतहटका सीडीओ दिनेश सागर भुसाल, गोरखाका तुलसी बहादुर श्रेष्ठ र दोलखाका हरि प्रसाद घिमिरेलाई गृह मन्त्रालय तथा अन्तर्गतका निकायमा तानिएको छ।
उपसचिवहरुतर्फ ९ जनाको सरुवा हुँदा केही साना जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसमेत हेरफेर भएका छन्। उपसचिव कुलेश्वर अर्याललाई भोजपुर, नवराज बराललाई जाजरकोट, महेश कुमार गुरुङलाई खोटाङ, बन्दना केसीलाई सल्यान र गणेश गैरेलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ। त्यस्तै, अमर बहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी र बेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।
-1788528873.webp)