काठमाडौं। भदौ १० गते रसुवा, नुवाकोट, गोरखा र धादिङमा आएको बाढीपहिरोमा परी घाइते भएका नागरिकमध्ये ४४ जनाको काठमाडौंका तीन ठूला अस्पतालमा उपचार भइरहेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा गरी ४४ जना घाइते उपचाररत रहेका हुन्। शिक्षण अस्पतालमा सबैभन्दा बढी २९ जना, ट्रमा सेन्टरमा १२ जना र वीर अस्पतालमा तीन जना उपचारमा रहेको जानकारी दिइएको छ।अस्पतालमा उपचारका लागि ल्याइएका अधिकांश घाइते उपचारपछि स्वास्थ्यमा सुधार आएर घर फर्किसकेका छन्। अहिले भर्ना रहेका बिरामीलाई उनीहरूको चोट तथा स्वास्थ्य अवस्थाअनुसार विभिन्न वार्डमा राखेर उपचार भइरहेको छ।शिक्षण अस्पतालका अनुसार त्यहाँ भर्ना भएका ७८ घाइतेमध्ये २९ जना अझै उपचारमा छन्। उपचाररत बिरामीमा हाडजोर्नी तथा नसासम्बन्धी चोट, टाउकोमा लागेको चोट, रगत तथा मुटुसम्बन्धी समस्या, छाला र बालरोगसम्बन्धी समस्या देखिएको छ।
जटिल अवस्थाका केही बिरामीलाई आईसीयू तथा न्युरोसर्जरी वार्डमा राखिएको छ भने अन्यलाई अब्जर्भेसन र एचडीयूमा निगरानीमा राखिएको अस्पतालले जनाएको छ। शिक्षण अस्पतालबाट ४४ जना डिस्चार्ज भइसकेका छन् भने एक जनाको मृत्यु भएको र चार जनालाई अन्यत्र रेफर गरिएको वा उपचार प्रक्रिया रद्द भएको जनाइएको छ।राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत १२ घाइतेमध्ये केहीलाई एचडीयूमा राखिएको छ। अन्य बिरामीको इमर्जेन्सी तथा साधारण वार्डमा उपचार भइरहेको छ। उनीहरूमा टाउको, पेट, कम्मर, हातखुट्टा, आँखा तथा शरीरका विभिन्न भागमा चोट लागेको पाइएको छ।ट्रमा सेन्टरमा उपचारका लागि भर्ना भएका ५० जनामध्ये ३६ जना उपचारपछि घर फर्किसकेका छन्। एक जनालाई अन्य अस्पतालमा पठाइएको र एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।यता वीर अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा। विकास नेपालका अनुसार उनीहरू तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।तीनवटै अस्पतालको विवरणअनुसार बाढीपहिरोबाट घाइते भई उपचारका लागि ल्याइएका ८३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। बाँकी घाइतेको स्वास्थ्य अवस्थाअनुसार अस्पतालहरूले उपचार तथा निगरानीलाई निरन्तरता दिइरहेका छन्।