काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि थाइल्यान्ड सरकारले आर्थिक सहयोगसहित आपत्कालीन सामग्री उपलब्ध गराउने भएको छ।
थाइल्यान्डले ७० लाख थाई भाट नगद र आवश्यक राहत सामग्री नेपाललाई सहयोग गर्ने जनाएको हो। नेपालको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर सहयोग उपलब्ध गराइएको बताइएको छ।थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले प्रधानमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमबीच थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीलाई उक्त सहयोग हस्तान्तरण गरेका छन्।सहयोग प्राप्त भएपछि राजदूत ओलीले नेपाल सरकार र नेपाली जनताको तर्फबाट थाइल्यान्ड सरकार तथा त्यहाँका नागरिकप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले कठिन समयमा प्राप्त सहयोगले दुई देशबीचको मित्रता, आपसी ऐक्यबद्धता र सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।थाइल्यान्ड सरकारले उपलब्ध गराउने नगद रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। त्यस्तै, आपत्कालीन राहत सामग्री पनि छिट्टै नेपाल पठाउने तयारी गरिएको छ।थाइल्यान्डका प्रधानमन्त्रीले नेपाललाई आवश्यक पर्ने अवस्थामा आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।