काठमाडौं । चीनबाट नेपालका बाढी प्रभावितका लागि पठाइएको राहत सामग्रीको पहिलो खेप बिहीबार काठमाडौं आइपुगेको छ।
‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’को पहलमा पठाइएको उक्त सामग्रीमा ६ हजार वटा मेडिकल बडी ब्यागसहित विभिन्न आवश्यक सामग्री रहेका छन्। चाइना साउदर्न एयरलाइन्सको सहयोगमा राहत सामग्री नेपाल ल्याइएको हो।चिनियाँ व्यवसायी तथा सर्वसाधारणको सहयोगबाट जुटाइएको करिब २७ टन सामग्रीमा १७५ वटा टेन्ट, १ हजार वटा सिरक, १ हजार वटा ज्याकेट र १ हजार वटा आपत्कालीन मानवीय राहत बाकस पनि रहेका छन्। राहत सामग्रीको कुल मूल्य १० लाख युआनभन्दा बढी रहेको जनाइएको छ।काठमाडौं आइपुगेपछि फाउन्डेसनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को समन्वयमा सामग्री रसुवाका बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ।राहत सामग्रीले बाढी प्रभावित परिवारलाई अस्थायी बसोबास, न्यानो कपडा तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। साथै मेडिकल बडी ब्यागले उद्धार तथा आपत्कालीन व्यवस्थापनमा खटिएका टोलीलाई मृतकको शव सुरक्षित र सम्मानजनक रूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने बताइएको छ।