काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएका सञ्जय साह र कबीर महर्जनमध्ये महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको छ भने साहको अवस्था सामान्य रहेको बताइएको छ। जटिल अवस्थामा रहेका कबीर महर्जनलाई उद्धारलगत्तै काठमाडौं ल्याइएको थियो। उनलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। त्यस्तै, पहिलोपटक उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणमा अवस्था स्थिर देखिएपछि थप परीक्षण तथा उपचारका लागि उनलाई पनि काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याउने तयारी गरिएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएको थियो। त्यसयता उद्धार टोलीले निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गर्दै आएको थियो। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा प्राविधिक र अन्य विज्ञसहितको संयुक्त टोलीले चुनौतीपूर्ण परिस्थितिका बीच शुक्रबार बिहान सुरुङभित्रबाट दुवै जनालाई जीवितै बाहिर निकाल्न सफल भएको हो। दुई जनाको जीवितै उद्धार भएपछि सुरुङभित्र अझै रहेका हुनसक्ने अन्य व्यक्तिको खोजी तथा उद्धारलाई समेत तीव्र पारिएको छ।