काठमाडौं । नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो हिस्सा खसेपछि आएको हिमस्खलन र त्यससँगै बगेको लेदोले चीनको तिब्बतस्थित चीन–नेपाल सीमा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
घटनापछि चिनियाँ उद्धार टोलीले खोजी तथा उद्धारलाई तीव्र बनाएको छ।अगस्ट २६ मा भएको घटनामा हालसम्म २१ जनाको मृत्यु पुष्टि भएको छ भने ५ सय ४१ जना अझै सम्पर्कविहीन रहेको तिब्बतको क्षेत्रीय सरकारले जनाएको छ।चिनियाँ अधिकारीका अनुसार करिब ५ हजार २ सय मिटर उचाइमा रहेको लाङटाङ लिरुङको हिमनदीको ठूलो भाग अचानक तल खसेको थियो। बरफ र चट्टानसहितको ठूलो मात्रा तल झर्ने क्रममा करिब ४ हजार मिटर तल पुगेपछि माटो तथा अन्य सामग्रीसमेत बगाएर लेदोको बाढी बनेको थियो। उक्त बाढी करिब २२ किलोमिटर तल रहेको जाइरोङ नाकासम्म पुगेको बताइएको छ।घटनापछि दुई हजार तीन सयभन्दा बढी उद्धारकर्मीलाई परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा ठूलो भूभागमा खोजी अभियान सञ्चालन भइसकेको छ भने मुख्य प्रभावित क्षेत्रमा सयौँ उद्धारकर्मीले थप खोजी गरिरहेका छन्।बुधबारसम्म खोजीका क्रममा मृतक तथा बेपत्ता व्यक्तिसँग सम्बन्धित हुन सक्ने ८ सय ४७ वटा व्यक्तिगत सामग्री फेला परेको जनाइएको छ।यस्तै, सीमा नाकातर्फ जाने सडकमा रहेका अवरोध हटाउन ठूला मेसिन प्रयोग भइरहेका छन्। सडक मर्मत, विद्युत् आपूर्ति र राहत व्यवस्थापनका लागि विभिन्न सरकारी तथा राज्य स्वामित्वका संस्थाले जनशक्ति र आवश्यक उपकरण परिचालन गरेका छन्।यसैबीच चीनले नेपालमा पनि राहत तथा उद्धार सहयोगलाई निरन्तरता दिएको छ। चिनियाँ राहत सामग्रीसहित डीएनए विज्ञहरूको टोली बिहीबार हवाईमार्गबाट काठमाडौं आइपुगेको छ। उक्त टोलीले मृतक तथा बेपत्ता व्यक्तिको पहिचानमा सहयोग गर्ने बताइएको छ।भौगोलिक कठिनाइ तथा थप प्राकृतिक विपद्को सम्भावनाबीच चिनियाँ उद्धारकर्मीले सम्भावित जीवित व्यक्तिको खोजी गर्नुका साथै मृतक र बेपत्ताको पहिचान तथा व्यवस्थापनका लागि अभियान जारी राखेका छन्।