काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेसी नजिकै रहेको चिलिमे जलविद्युत् आयोजनाको पावर हाउस सुरुङमा भइरहेको उद्धार तथा खोजी कार्यको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा उनले उद्धारमा खटिएका नेपाली सेना र भारतीय प्राविधिक टोलीसँग भइरहेको कामबारे जानकारी लिएका थिए। सुरुङभित्र बाढी तथा पहिरोका कारण अवरोध सिर्जना भएपछि त्यसलाई हटाउँदै भित्रसम्म पुग्ने प्रयास भइरहेको छ।राजदूत श्रीवास्तवले सामाजिक सञ्जालमार्फत नेपाली र भारतीय टोलीको संयुक्त प्रयासको प्रशंसा गरेका छन्। उनका अनुसार कठिन भौगोलिक परिस्थितिका बाबजुद दुवै देशका प्राविधिक तथा सुरक्षा टोली निरन्तर उद्धारमा जुटिरहेका छन्।भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गरेर सुरुङभित्र करिब १ सय मिटर दूरीसम्म पहुँच बनाइसकेको बताइएको छ। अब थप गहिराइसम्म पुग्न ठूला तथा भारी उपकरण प्रयोग गर्ने तयारी भइरहेको राजदूत श्रीवास्तवले जानकारी दिएका छन्।उद्धारस्थलको भौगोलिक अवस्था चुनौतीपूर्ण रहेको पनि उनले उल्लेख गरेका छन्। सुरुङभित्रको जमिन दलदलयुक्त हुनुका साथै काम गर्ने अवस्था कठिन भए पनि उद्धार टोलीले प्रयास जारी राखेको उनको भनाइ छ।गत असोजमा आएको बाढी तथा पहिरोका कारण चिलिमे जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पुगेको थियो। त्यसपछि आयोजनाको पुनर्स्थापना तथा प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाल र भारतका प्राविधिक तथा सुरक्षा निकाय परिचालित हुँदै आएका छन्।