काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदार बेपत्ता भएका छन्।
सुरुङभित्र काम गरिरहेका बेला बाढी पसेपछि उनीहरूको अवस्था अझै पत्ता लाग्न सकेको छैन।यहीबीच सुरुङ उद्धारमा अनुभव हासिल गरेको भारतीय ‘र्याट माइनर्स’ टोलीले नेपालमा आएर उद्धार कार्यमा सहयोग गर्ने इच्छा देखाएको छ। टोलीले नेपालमा उद्धारका लागि परिचालन हुन पाऊँ भन्दै काठमाडौँस्थित भारतीय दूतावासमार्फत आवश्यक सहजीकरणका लागि प्रस्ताव गरेको हो।भारतीय सञ्चारमाध्यमका अनुसार नेपालबाट अनुमति प्राप्त भएपछि टोली आवश्यक उपकरण र दक्ष जनशक्तिसहित तत्काल नेपाल आउन तयार रहेको जनाएको छ।यस टोलीले सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना मजदुरको उद्धारमा महत्वपूर्ण भूमिका खेलेको थियो। साँघुरो सुरुङभित्र प्रवेश गरेर हातैले माटो हटाउँदै उद्धार मार्ग बनाउन उनीहरूले सहयोग गरेका थिए।टोलीका सदस्य आनन्द कंसालका अनुसार नेपालमा आएको बाढीका तस्वीर तथा भिडियो हेरेपछि आफूहरू प्रभावित भएका थिए। सुरुङ उद्धारमा आफ्नो अनुभव नेपालका लागि उपयोगी हुनसक्ने ठानेर सहयोगको प्रस्ताव गरिएको उनको भनाइ छ।नेपाल सरकारले अनुमति दिएमा ‘र्याट माइनर्स’ टोलीले रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार अभियानमा प्राविधिक सहयोग गर्न सक्नेछ।