काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने गरी छुट्टै कार्यतालिका सार्वजनिक गरेको छ। संस्थापन पक्षले भदौ २४ देखि असोज १९ गतेभित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याइसकेको अवस्थामा इतर पक्षले चुन्ददेवीस्थित सम्पर्क कार्यालयमा बुधबार महाधिवेशन तयारी समितिको दोस्रो बैठक बसी मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो।
सार्वजनिक कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सञ्चालन हुनेछ। महाधिवेशनलाई व्यवस्थित बनाउन भदौ १८ गतेभित्र केन्द्रीय निर्वाचन, क्रियाशील सदस्य छानबिन, विधान संशोधन र अनुशासन गरी चार विषयगत समितिहरू गठन गर्ने निर्णय भएको छ। साथै भदौ २० गतेभित्र ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाइ भदौ २५ सम्ममा जिल्ला अधिवेशन तयारी समिति गठन गरिने जनाइएको छ।
सचिवालय समिति समन्वय संयोजक दीपक प्रसाद कुईकेलका अनुसार १४औँ महाधिवेशनका सहभागी, तोकिएको समयभित्र नवीकरण गरेका र असोज ९ गतेभित्र नयाँ सदस्यता प्राप्त गर्ने सबै सदस्यहरूले १५औँ महाधिवेशनमा भाग लिन पाउनेछन्। बैठकले क्रियाशील सदस्यताको विवाद समाधानका लागि छानबिन समितिकै निर्णयलाई अन्तिम मान्ने र आगामी स्थानीय तथा प्रदेशसभा निर्वाचनका लागि उपयुक्त उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रियासमेत अघि बढाउने निर्णय गरेको छ। यसका साथै आगामी भदौ २४ गते पर्ने ११३औँ बी.पी. जयन्ती भव्यताका साथ मनाउने निर्णय पारित गरिएको छ।
बैठकले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरेको छ। खोजी तथा उद्धार कार्यमा स्वदेशी तथा विदेशी विज्ञहरू र अत्याधुनिक प्रविधिको प्रयोग गर्न, राहत वितरणमा भएको ढिलासुस्ती अन्त्य गरी पीडितहरूलाई तत्काल सुरक्षित आवास र क्षतिपूर्तिसहित पुनःस्थापनाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ। साथै, कांग्रेसले राजनीतिक दल, निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय र आफ्ना कार्यकर्ताहरूलाई मानवीय सहायतामा जुट्न अपिल गरेको छ।
