विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित, पारदर्शी र संस्थागत रूपमा सञ्चालन गर्न २४ बुँदे अवधारणा प्रस्ताव पेस गरेका छन्। बुधबार विराटनगरमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकमा पहिलो पटक सहभागी हुँदै वरिष्ठ नेता किरातीले विधान निर्माणदेखि निर्वाचन रणनीति र श्रमदान अभियानलाई समेटेर उक्त प्रस्ताव पेस गरेका हुन्।
किरातीले पेस गरेको प्रस्तावमा पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा लोकतान्त्रिक र समावेशी विधान निर्माणका लागि तत्काल ‘विधान मस्यौदा समिति’ गठन गर्न माग गरिएको छ। यसैगरी, पार्टीका हरेक आर्थिक क्रियाकलापलाई पारदर्शी बनाउन आर्थिक नियमावली, बजेट निर्माण र नियमित लेखापरीक्षणको स्पष्ट प्रणाली लागू गर्नुपर्ने प्रस्तावमा उल्लेख छ। आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटका लागि वस्तुनिष्ठ र पारदर्शी मापदण्ड तयार गर्न छुट्टै कार्यदल गठन गर्नुपर्ने उनको सुझाव छ।
नेतृत्वको कार्यशैलीमा सुधार ल्याउन सुदन किरातीले ‘सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी’को अवधारणा अघि सारेका छन्। पार्टीका महत्त्वपूर्ण निर्णयहरू पदाधिकारी र सम्बन्धित कमिटीको छलफलबाट मात्र गरिनुपर्ने, निर्णयको व्यवस्थित अभिलेख राख्नुपर्ने र नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा हुनुपर्ने उनको जोड छ। यस्तै, नेता तथा कार्यकर्ताको क्षमता, अनुभव र रुचिका आधारमा वैज्ञानिक ढङ्गले जिम्मेवारी बाँडफाँड गर्नुपर्ने र निर्वाचन आयोगमा पार्टीको विवरण तत्काल अद्यावधिक गर्नुपर्ने प्रस्ताव गरिएको छ।
पार्टीलाई आधुनिक ‘डिजिटल प्रणाली’मा लैजान सदस्यता, सङ्गठनको अभिलेख, आर्थिक विवरण र सञ्चारलाई एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्नुपर्नेमा उनले जोड दिएका छन्। पार्टीको नाम र दर्शन अनुरूप ‘श्रम संस्कृति’लाई व्यवहारमा स्थापित गर्न छुट्टै ‘श्रमदान विभाग’ गठन गरी सिर्जनात्मक र जनमुखी श्रमदान अभियान सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। यसका साथै, वार्षिक क्यालेन्डर जारी गर्ने, आन्तरिक विवाद समाधानका लागि अनुशासन आयोग गठन गर्ने र नेतृत्व–कार्यकर्ता बिच नियमित संवाद संयन्त्र निर्माण गर्ने विषय २४ बुँदे प्रस्तावमा समेटिएका छन्।