काठमाडौं । नेकपा एमालेले भोटेकोशी बाढीपछि उत्पन्न संकट समाधान तथा उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारसमक्ष आठ बुँदे सुझाव अघि सारेको छ।
बुधबार प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकारको कार्यशैलीमा सुधार आवश्यक रहेको भन्दै विपद् व्यवस्थापनका लागि विभिन्न संरचना तत्काल निर्माण गर्नुपर्ने धारणा राखेका हुन्।थापाले प्रधानमन्त्रीलाई संसद्प्रति थप उत्तरदायी भएर सरकारका योजना, काम र प्रगतिबारे नियमित रूपमा सदनलाई जानकारी गराउन आग्रह गरे। उनका अनुसार राष्ट्रिय संकटको सामना गर्न सरकार एक्लैले भन्दा सबै पक्षलाई समेटेर अघि बढ्न आवश्यक छ।
एमालेले अघि सारेका मुख्य सुझाव यस्ता छन् :
- प्रधानमन्त्रीको कार्यशैलीमा सुधार गर्दै संसद्प्रति थप जवाफदेही बन्नुपर्ने।
- राजनीतिक दल, नागरिक समाज र विज्ञलाई समेटेर सर्वपक्षीय संयन्त्र बनाउनुपर्ने।
- विपद् व्यवस्थापनमा आवश्यक सहयोग र निगरानीका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने।
- अन्तर्राष्ट्रिय सहयोग र समन्वयलाई व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल बनाउनुपर्ने।
- खोज, उद्धार तथा राहतलाई तीव्र बनाउन रक्षामन्त्रीको नेतृत्वमा युनिफाइड स्पेसल टास्कफोर्स गठन गर्नुपर्ने।
- क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष पुनर्निर्माण कार्यदल गठन गर्नुपर्ने।
- जलवायु परिवर्तनका कारण बढिरहेका विपद् सामना गर्न अन्तर्राष्ट्रिय सहयोग जुटाउन सगरमाथा संवादको दोस्रो संस्करण अघि बढाउनुपर्ने।
- विपद्को सामना गर्न सरकारी तथा गैरसरकारी सबै पक्षलाई समेटेर सामूहिक र समन्वित प्रयास गर्नुपर्ने।
नेता थापाले राष्ट्रिय संकटको समयमा प्रतिपक्षका रूपमा एमाले सरकारलाई आवश्यक रचनात्मक सहयोग गर्न तयार रहेको बताए। उनले बाढीबाट सिर्जित समस्या समाधानका लागि सरकारको सक्रियता, समन्वय र प्रभावकारी व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए।