काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीबाट उत्पन्न अवस्था र सरकारले गरिरहेको उद्धार तथा राहत कार्यबारे प्रतिनिधिसभामा जानकारी गराउने भएका छन्।
बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले रसुवा बाढीबारे सांसदहरूलाई ब्रिफिङ गर्ने कार्यक्रम तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले सम्बोधनका क्रममा बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र सरकारले अघि बढाएका कदमबारे जानकारी गराउने अपेक्षा गरिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो क्षति भएपछि प्रधानमन्त्रीले संसद्मा गर्न लागेको सम्बोधनलाई चासोका साथ हेरिएको छ।