काठमाडौँ । संघीय संसद् मातहतका दुई वटा विषयगत संसदीय समितिको बैठक आज बुधबार बस्दै छ। संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
सिंहदरबारस्थित समितिको सभाहलमा बिहान साढे ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोका कारण समग्र पर्यटन क्षेत्रमा परेको असर तथा क्षतिबारे गहन छलफल गर्ने कार्यसूची रहेको छ। बाढीका कारण पदमार्ग, होटल तथा पर्यटन पूर्वाधारमा पुगेको क्षति र पर्यटकहरूको सुरक्षा एवम् उद्धारसम्बन्धी विषयमा समितिले सरोकारवाला निकायहरूसँग छलफल गर्नेछ।
यसैगरी, दिउँसो सवा १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।