काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दै छ। आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले देशभर निम्त्याएको अपूरणीय क्षतिका सम्बन्धमा संसद्का तर्फबाट ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा प्रस्तुत हुने विशेष प्रस्तावमार्फत प्रतिनिधिसभाले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गतहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नेछ।
विशेष प्रस्तावको मस्यौदामा भनिएको छ, ‘प्रतिनिधिसभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनाका साथै ठूलो सङ्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ।’
यसैगरी, उक्त विशेष प्रस्तावमार्फत संसद्ले बाढीका कारण घरबारविहीन भएका नागरिकहरूको तत्काल उचित व्यवस्थापन, राहत तथा पुनःस्थापनाको माग गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नेछ।