काठमाडाैँ । वीरगञ्ज महानगरपालिका–छपकैया क्षेत्रमा मोहम्मदी दिवसका दिन धार्मिक झण्डाको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो।
विवादका क्रममा नेपाली कांग्रेसका नेता मोहम्मद सहाबुद्दिनको घरको छतबाट ढुंगा प्रहार गरी एक व्यक्ति गम्भीर घाइते भएको पीडित पक्षले आरोप लगाएको छ। पीडित पक्षका अनुसार घटनामा घाइते भएका व्यक्तिको उपचार तथा शल्यक्रियामा हालसम्म करिब ५ लाख रुपैयाँ खर्च भइसकेको छ। घाइतेको अवस्था गम्भीर रहेको र उनलाई सास फेर्नसमेत समस्या भइरहेको बताइएको छ। घाइतेले आफू भिडियो बनाउने क्रममा ढुंगा प्रहारबाट घाइते भएको बताएका छन्। उनका भाइसमेत घटनामा घाइते भएको उनले जानकारी दिए।
‘मेरो अवस्था एकदमै गम्भीर छ। मलाई सास फेर्न पनि गाह्रो भइरहेको छ। मेरो भाइलाई पनि चोट लागेको छ। भिडियो बनाउने क्रममा म गम्भीर घाइते भएँ। अहिले यही अवस्थामा हिँडडुल गर्न पनि गाह्रो भइरहेको छ,’ उनले भने। पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेको छ। साथै, घाइतेको उपचारमा ठूलो रकम खर्च भएकाले उपचार खर्चको व्यवस्थापनमा समेत सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ। धार्मिक झण्डाको विषयबाट सुरु भएको विवादमा भएको भनिएको ढुंगा प्रहारबारे सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गरी घटनाको वास्तविकता बाहिर ल्याउनुपर्ने माग गरिएको छ।