काठमाडौँ । रसुवामा आएको भोटेकोशी बाढीपछि केही विदेशी पर्यटकसमेत सम्पर्कविहीन बनेको भन्दै उनीहरूको खोजी तथा उद्धारका लागि विभिन्न सम्भावित स्थानमा खोजी केन्द्रित गरिएको छ।
खोजी तथा उद्धारमा संलग्न निकायले स्याब्रुबेसीदेखि रसुवागढीसम्मका १३ वटा सम्भावित स्थानलाई प्राथमिकतामा राखेका छन्। यीमध्ये केही स्थानमा विदेशी पर्यटकहरू गएको वा बसेको जानकारी प्राप्त भएकाले त्यहाँ खोजीलाई विशेष प्राथमिकता दिन आग्रह गरिएको छ। खोजी गरिने स्थानमा स्याब्रुबेसी क्षेत्रको रोयल हिमालयन होटल, गोल्जुङ, भाङ्गे झरना, अपर स्याफ्रु स्कुल, तिमुरे उपत्यका, थुलो भार्खु रिज, लिङ्लिङ चट्टान/भीर, रसुवागढी किल्ला, थुमन गुम्बा, तामाङ सम्पदा क्षेत्र, थुमन वरपर तथा नागथलीतर्फ जाने पैदलमार्ग, रसुवा भन्सार कार्यालय पछाडिको ट्रेल तथा माउन्टेन भ्यु गेस्टहाउस र होटल कैलाश आसपासको उपत्यका रहेका छन्। भदौ १० गतेपछि सम्पर्कविहीन भएका विदेशी पर्यटकहरू यी क्षेत्रमध्ये कुनै स्थानमा रहेको हुन सक्ने आशंकामा खोजी भइरहेको जनाइएको छ। बाढीपछि नेपाल भ्रमणमा आएका विभिन्न देशका पर्यटकहरूको अवस्था समेत पत्ता लाग्न नसकेकाले उनीहरूका परिवार तथा आफन्त चिन्तित बनेका छन्।
यसअघि गोसाइँकुण्ड भ्रमणका लागि भारतलगायत विभिन्न देशबाट ठूलो संख्यामा पर्यटक रसुवा पुगेका थिए। तीमध्ये आफन्त तथा साथीभाइको खोजीका लागि छिमेकी मुलुक भारतबाट समेत परिवारका सदस्यहरू नेपाल आएका छन्। आफ्ना आफन्तको अवस्था पत्ता लाग्ने आशामा उनीहरू खोजी तथा उद्धार टोलीको सम्पर्कमा रहेर सम्भावित स्थानबारे जानकारी लिइरहेका छन्। लामो समयसम्म सम्पर्कमा नआएका पर्यटकहरू सकुशल भेटिने आशामा आफन्तहरू अझै पर्खिरहेका छन्। स्थानीय तथा उद्धारमा संलग्न निकायले विदेशी पर्यटकहरू बस्न सक्ने होटल, गेस्टहाउस, पैदलमार्ग, खोँच तथा नदी आसपासका क्षेत्रमा समेत खोजीलाई तीव्रता दिनुपर्ने बताएका छन्। विदेशी पर्यटकहरू रहेका भनिएका यी सम्भावित स्थानमा खोजी प्रभावकारी बनाउन सञ्चारमाध्यम तथा खोजी–उद्धारमा संलग्न टोलीलाई समेत विशेष ध्यान दिन आग्रह गरिएको छ। सकुशल भेटिने आशा अझै बाँकी रहेकाले सम्भावित प्रत्येक स्थानमा खोजीलाई तीव्रता दिनुपर्ने अवस्था छ।