काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भुवनबहादुर सुनारले बाढी प्रभावित नागरिकसम्म राहत पुर्याउन सरकारले अपनाएको एकद्वार प्रणाली प्रभावकारी हुन नसकेको बताएका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय सरकार तथा प्रदेश र स्थानीय तहबीच पर्याप्त समन्वय नहुँदा राहत वितरणमा ढिलाइ भएको बताए।सुनारले प्रभावित स्थानीय तह, वडा र जनप्रतिनिधिसँग प्रत्यक्ष समन्वय गरी तत्काल आवश्यक सामग्री नागरिकसम्म पुर्याउन सरकारलाई आग्रह गरे। राहत वितरणमा स्थानीय सरकारलाई पूर्ण रूपमा परिचालन गर्नुपर्ने उनको भनाइ छ।अझै पनि कतिपय प्रभावित नागरिक राहतको पहुँचबाहिर रहेको भन्दै उनले सरकारले आफैँ त्यस्ता समुदायसम्म पुगेर सहयोग गर्नुपर्ने बताए। विपद्को समयमा राजनीतिक दल, सरकार र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।उनका अनुसार बाढीपहिरोपछि सम्पर्कविहीन नागरिकको खोजी, उद्धार र जीवनरक्षा सरकारको तत्कालीन प्राथमिकता हुनुपर्छ। साथै राहत वितरणमा देखिएका कमजोरी हटाउँदै प्रभावित नागरिकलाई शीघ्र सहायता उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराए।