काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा राहत वितरण तथा अन्य व्यवस्थापनका कामलाई सहज बनाउन ६ राजनीतिक दलका प्रतिनिधि सम्मिलित संयन्त्र गठन गरिएको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार राष्ट्रिय मान्यता प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीका प्रतिनिधि सहभागी राजनीतिक सहजीकरण समिति बनाइएको हो। उक्त समितिको समन्वयमा स्थानीय तहमा राहत वितरणलगायतका काम अघि बढाइने रेग्मीले जानकारी दिए। उनका अनुसार रसुवामा पनि यही प्रकृतिको संयन्त्रमार्फत राहत व्यवस्थापनको काम अगाडि बढाइएको छ।
विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहत र उद्धारमा मात्र सीमित नराखी दीर्घकालीन तथा दिगो समाधानतर्फ लैजान संसदीय समिति गठन गर्ने विषयमा यसअघि भदौ ११ गते बसेको सर्वदलीय बैठकमा सहमति भएको थियो। उक्त बैठकले बाढी प्रभावित स्थानीय तहलाई राहत तथा पुनःस्थापनाका काममा अग्रभूमिकामा राख्ने निर्णय गरेको थियो। साथै, आवश्यक समन्वयका लागि केन्द्रमा सर्वदलीय संयन्त्र निर्माण गर्ने निर्णयसमेत गरिएको थियो।सर्वदलीय बैठकको निर्णय भएको चार दिनपछि सरकारले स्थानीय तहलाई राहत वितरणको ‘फ्रन्टलाइन’ भूमिकामा ल्याएको हो। यसअघि सुरक्षा निकायमार्फत एकद्वार प्रणालीबाट राहत वितरण हुँदै आएको थियो। राहत वितरणमा स्थानीय तहलाई पर्याप्त भूमिका नदिइएको भन्दै प्रभावकारितामाथि प्रश्न उठेपछि सरकारले सोमबारदेखि स्थानीय तहलाई नै राहत वितरणको जिम्मेवारी दिएको हो।