काठमाडौँ । भोटेकोशी बाढीमा परी रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत इलेक्ट्रिकल इन्जिनियर समीर लामिछाने ७ दिनदेखि सम्पर्कविहीन छन्।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउस प्लान्ट इन्चार्ज रहेका लामिछाने बाढी आएको दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन्। उनको अवस्था हालसम्म पत्ता लाग्न नसकेपछि परिवारले खोजी तथा उद्धारका लागि सरकार र सम्बन्धित निकायसँग निरन्तर आग्रह गरिरहेको छ। समीरकी बहिनी सविना न्यौपानेले सरकारको आलोचना गर्ने उद्देश्य नभएको स्पष्ट पार्दै आफ्नो दाजुसहित रसुवागढी जलविद्युत् आयोजनामा रहेका अन्य कामदारको खोजी तथा उद्धारलाई तत्काल प्राथमिकतामा राख्न आग्रह गरेकी छन्। उनले सरकारले आफ्नोतर्फबाट प्रयास गरिरहेको आफूले बुझेको बताउँदै आयोजनाको पावर हाउस क्षेत्रमा समेत उद्धार टोलीको ध्यान पुग्नुपर्ने बताइन्। ‘मैले सरकारको आलोचना गर्न खोजेको होइन। सरकारले आफ्नोतर्फबाट सक्दो प्रयास गरिरहेको छ भन्ने बुझेकी छु। तर मेरो दाजु हराएको ७ दिन भइसक्यो। उहाँलाई चाँडोभन्दा चाँडो खोजेर उद्धार गरिदिन सम्बन्धित निकायसँग आग्रह गर्छु,’ सविनाले भनिन्।
रसुवागढी जलविद्युत् आयोजनामा बाढीका कारण ठूलो क्षति भएको र त्यहाँ रहेका अन्य कामदारसमेत प्रभावित भएको खबर पाएपछि परिवारको चिन्ता थपिएको उनले बताइन्। ‘त्यहाँ धेरै मानिस फसेको खबर पनि पाएका छौँ। उनीहरूको अवस्था सम्झिँदा पनि निकै डर लाग्छ। त्यसैले रसुवागढी हाइड्रोपावर क्षेत्रमा विशेष प्राथमिकताका साथ खोजी गरिदिनुपर्यो,’ उनले भनिन्। बाढी आएको ६ दिन बितिसक्दा पनि समीरको अवस्था पत्ता नलाग्दा परिवार अझै उनको सकुशल उद्धार हुने आशामा छ। सविनाले उपलब्ध प्रविधि, उपकरण र जनशक्ति प्रयोग गरेर रसुवागढी जलविद्युत् आयोजना क्षेत्रमा खोजी तथा उद्धारलाई तीव्रता दिन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेकी छन्। परिवारको मुख्य माग समीरको मात्र नभई बाढीपछि आयोजनामा सम्पर्कविहीन तथा फसेका सबै कामदारको अवस्था तत्काल पत्ता लगाएर सुरक्षित उद्धार गर्नु रहेको छ।