काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ।
देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट भएको क्षति र त्यसपछिको अवस्थाबारे प्रतिनिधिसभामा पार्टीले उठाउने विषय तय गर्न बैठक बसेको हो।बैठकमा विशेषगरी रसुवाको भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार तथा राहत व्यवस्थापन र पुनर्निर्माणका विषयमा छलफल भइरहेको एमाले प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए।उनका अनुसार आगामी प्रतिनिधिसभा बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना ल्याउन तथा पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल हुनेछ।बैठकमा एमाले सांसदहरूले आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लामा विपद्बाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै तत्काल सम्बोधन गर्नुपर्ने विषयबारे धारणा राखिरहेका छन्। प्राप्त विवरणका आधारमा सरकारसमक्ष आवश्यक माग र सुझाव प्रस्तुत गर्ने तयारी गरिएको छ।