काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको हो।
भोटेकोशीसहित विभिन्न क्षेत्रमा देखिएको महाविपत्तिपछि अनिश्चितकालका लागि स्थगित भएको संसद् बैठक पुनः सञ्चालन गर्न कार्यव्यवस्था परामर्श समितिले कार्यतालिका तय गरेको हो।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारका अनुसार बुधबारको बैठकमा सभामुखकै तर्फबाट राष्ट्रिय विपद्सम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गरिनेछ।विशेष प्रस्तावमाथि संसद्मा प्रतिनिधित्व गर्ने ६ दलका नेताहरूलाई विपद्सँग सम्बन्धित विषयमा धारणा राख्ने अवसर दिने सहमति भएको छ। उक्त प्रस्तावमा छुट्टै प्रस्तावक र समर्थक राख्ने व्यवस्था भने नगरिएको परियारले जानकारी दिए।निर्धारित कार्यतालिकाअनुसार प्रतिनिधिसभाको बैठक भदौ १७ र १८ गते सञ्चालन हुनेछ। त्यसपछि तीन दिन सार्वजनिक बिदा रहेकाले संसद्को अर्को बैठक भदौ २२ गते बस्नेछ।सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरेको अवस्थामा भने संसद्को नियमित कार्यसूची भदौ २३ गतेदेखि मात्र अघि बढाइनेछ।यससँगै लामो समयदेखि स्थगित प्रतिनिधिसभा बैठक विपद्को विषयलाई प्राथमिकतामा राख्दै पुनः सञ्चालन हुने भएको छ।