काठमाडाैँ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कपिलवस्तु नगरपालिका तौलिहवाका पूर्वउपप्रमुख श्री वासुदेव कसौधन तथा उहाँको परिवारले २ लाख २१ हजार रुपैयाँ राहत सहयोग गर्ने घोषणा गरेका छन्।
तौलिहवाका व्यवसायी तथा समाजसेवीसमेत रहेका पूर्वउपप्रमुख वासुदेव कसौधन, तौलिहवा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सन्तोष कसौधन र समाजसेवी अमरदीप कसौधनको परिवारले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। भोटेकोशी बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित भएकाले संकटको समयमा मानवीय सहयोग आवश्यक रहेको महसुस गरी परिवारको तर्फबाट राहत रकम प्रदान गर्न लागिएको जनाइएको छ।
कसौधन परिवारले उपलब्ध गराउने २ लाख २१ हजार रुपैयाँको राहत रकम कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा सम्बन्धित आधिकारिक राहत कोषमा जम्मा गरिने पारिवारिक स्रोतले जनाएको छ। विपत्तिको यस कठिन घडीमा पीडित परिवारलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको पूर्वउपप्रमुख वासुदेव कसौधन तथा परिवारले जनाएको छ। कसौधन परिवारले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै मानवीय तथा सामाजिक सेवाका कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।