काठमाडौं । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा तत्कालीन राहत तथा उद्धारसँगै पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।बैठकले विपद्का कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले अन्तरप्रदेशीय सहकार्यलाई समेत प्राथमिकता दिएको जनाएको छ। कर्णाली सरकारले यसअघि पनि भोटेकोशी बाढीपछि राहत तथा उद्धारका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको थियो।यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रदेशको शिक्षा क्षेत्र सुधारका लागि दीर्घकालीन योजना पनि स्वीकृत गरेको छ। सामाजिक विकास मन्त्रालयले तयार पारेको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ लाई बैठकले अनुमोदन गरेको हो।नयाँ योजनाले आगामी १० वर्षमा कर्णालीको शिक्षा क्षेत्रको विकास, सुधार र गुणस्तर अभिवृद्धिका लागि आवश्यक नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।यसरी कर्णाली प्रदेश सरकारले एकैपटक भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने निर्णयसँगै आफ्नै प्रदेशको शिक्षा क्षेत्रका लागि दशक लामो योजना अघि बढाएको छ।