काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालजस्ता जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिको जिम्मेवारी विकसित राष्ट्रहरूले लिनुपर्ने बताएका छन्।
सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा राजधानी प्रदेश कमिटीले बाढी प्रभावितको सहयोगका लागि उपलब्ध गराएको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै ओलीले जलवायु परिवर्तन र पर्वतीय विपद् सिर्जनामा नेपालको भूमिका नगण्य रहेको दाबी गरे।उनले वातावरण तथा जलवायुमा बढी असर पार्ने विकसित मुलुकहरूले नै त्यसबाट प्रभावित देशलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने धारणा राखे। अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त राहत र सहयोगको प्रशंसा गर्दै ओलीले यस्ता सहयोगलाई केवल मानवीय दयाका रूपमा नभई जलवायु न्यायको विषयका रूपमा अघि बढाउनुपर्ने बताए।उनका अनुसार नेपालले कार्बन उत्सर्जनमा उल्लेखनीय योगदान नगरे पनि जलवायु परिवर्तनको असर भने गम्भीर रूपमा व्यहोर्नुपरिरहेको छ। त्यसैले जलवायु क्षतिपूर्तिको विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो अधिकारका रूपमा दाबी गर्नुपर्ने उनले बताए।
भोटेकोशीमा आएको विनाशकारी बाढीलाई ओलीले विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा व्याख्या गरे। यस्तो घटनाबाट विश्व समुदायले पाठ सिक्नुपर्ने भन्दै उनले नेपालले तत्काल ‘सगरमाथा संवाद’ आयोजना गर्नुपर्ने आवश्यकता औंल्याए।भोटेकोशीको घटना कुनै एक क्षेत्रको विपद्मा सीमित नरहेको उल्लेख गर्दै ओलीले यसलाई विश्वव्यापी वातावरणीय परिवर्तनसँग जोडेर हेर्नुपर्ने बताए। नेपालले भोगिरहेको संकटप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन पनि यस्तो पहल आवश्यक रहेको उनको भनाइ थियो।यसैबीच ओलीले बाढीपछि सरकारको खोज, उद्धार तथा राहत व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरे। विपद्को समयमा प्रभावकारी उद्धार हुन नसकेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।उद्धार कार्यमा निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्न रोक लगाइएको विषयमा समेत ओलीले आपत्ति जनाए। विपद्को समयमा उपलब्ध सबै स्रोत र साधनलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उनको धारणा थियो।ओलीले बाढी प्रभावित क्षेत्रमा एमालेका नेता तथा कार्यकर्ताहरू राहत र उद्धारका काममा परिचालित भइरहेको दाबीसमेत गरे।