काठमाडौँ । भोटेकोशी नदीमा बाढी आएको ६ दिन बितिसक्दा पनि बाढीपछि सम्पर्कविहीन भएका अच्युतम सापकोटाको अवस्था अझै अज्ञात छ।
काभ्रेपलाञ्चोकको कुशादेवी निवासी सापकोटा बाढी प्रभावित क्षेत्रमा रहेका बेला सम्पर्कविहीन भएको परिवारले जनाएको छ। उनको खोजी तथा उद्धारका लागि परिवारले सम्बन्धित निकायसँग आग्रह गर्दै आएको छ। तर हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। छ दिनसम्म आफन्तको कुनै खबर नआएपछि परिवारमा चिन्ता बढेको छ। अच्युतम जीवितै भेटिने आशामा परिवारले उद्धार तथा खोजी टोलीको गतिविधिलाई नजिकबाट नियालिरहेको छ। भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपालका सुरक्षा निकायसहित विभिन्न निकाय परिचालन भएका छन्। खोज तथा उद्धारमा सहयोग पुर्याउन छिमेकी चीनबाट समेत विशेषज्ञ टोली र आवश्यक उपकरणसहितको सहयोग आएको छ। विपद् प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि विभिन्न स्रोतसाधन परिचालन भइरहे पनि अच्युतमको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
यस्तो अवस्थामा बेपत्ता व्यक्तिको खोजीमा थप प्रभावकारी समन्वय र प्रविधिको प्रयोग आवश्यक देखिएको छ। प्रभावित क्षेत्रको कठिन भौगोलिक अवस्था तथा बाढीबाट भएको क्षतिका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको हुनसक्छ। तर परिवारका लागि हरेक दिनको प्रतीक्षा उत्तिकै कठिन बन्दै गएको छ। विपद्का क्रममा बेपत्ता नागरिकको खोजीलाई तीव्र बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्धार टोली तथा उपलब्ध प्रविधि र विशेषज्ञ जनशक्तिबीच थप समन्वय आवश्यक देखिन्छ। आवश्यक परे अन्य देशबाट विशेषज्ञ, उपकरण र प्रविधि ल्याएर भए पनि खोजीलाई प्रभावकारी बनाउनुपर्ने परिवारको अपेक्षा छ। अच्युतमको परिवार अहिले पनि उनको सकुशल उद्धार हुने आशामा छ। उनीहरूको एउटै प्रश्न छअच्युतम कहाँ छन् र उनको अवस्था के छ ? बाढी आएको ६ दिन बितिसक्दा पनि यो प्रश्नको जवाफ नआउँदा परिवारको प्रतीक्षा र चिन्ता झन् गहिरिँदै गएको छ। अच्युतम सापकोटाबारे कुनै जानकारी प्राप्त भएमा वा उहाँलाई फेला पार्नुहुने जो–कोहीले ९८४३०११७४९ नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।