काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश हाल गम्भीर संकटको परिस्थितिमा रहेको बताउँदै यस घडीमा सरकारको आलोचना गर्नुभन्दा आवश्यक सल्लाह र सुझाव दिनु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।
जनकपुरधाममा आयोजित एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले विपद्को समयमा सरकारको कामप्रति आफूले सूक्ष्म नजर राखिरहेको र समस्या समाधानका लागि रचनात्मक सुझावहरू दिइरहेको जानकारी गराए। उनले बाढी–पहिरोमा परी हराइरहेका व्यक्तिहरूको खोजतलास तीव्र बनाउन र पुरिएका शवहरू निकालेर आफन्तको जिम्मा लगाउन सरकारलाई सुझाव दिएको बताए। साथै, बाढीका कारण भारततर्फ बगेर शवहरू भेटिरहेकाले सरकारले त्यसतर्फ पनि विशेष ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ थियो।
सहोजक नेपालले राहत वितरण तथा समस्यामा परेका नागरिकहरूलाई सहयोग पु¥याउन पार्टीका तर्फबाट सरकारलाई पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरे। भविष्यमा हुन सक्ने सम्भावित विपद्हरूको पूर्वतयारी र आवश्यक बन्दोबस्त अहिल्यैदेखि गर्न समेत उनले सरकारलाई आग्रह गरे। आफू प्रधानमन्त्री हुँदा जलवायु संरक्षणको सन्देश दिन सगरमाथामा मन्त्रिपरिषद् बैठक बसेको स्मरण गराउँदै उनले प्रकृति संरक्षणमा दीर्घकालीन ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई वडा तहसम्मै पुगेर विगतमा गरिएका कामहरूबारे जनतालाई स्पष्ट जानकारी गराउन निर्देशन दिएका छन्। पार्टी प्रचारप्रसारमा केही कमजोर देखिएकाले अब जनतामाझ पुगेर आफ्ना प्रगति विवरण र कामहरूको टिपोट गराउँदै सुसूचित गराइने उनले स्पष्ट पारे।