काठमाडौं ।चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको मिलनबिन्दु नजिक रहेको ठूलो ताल क्षेत्रमा केही ग्लेसियर फुटेको जानकारी नेपाल सरकारले प्राप्त गरेको छ।
तर त्यसबाट नेपालमा तत्काल ठूलो जोखिम उत्पन्न हुने अवस्था नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन्।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले चिनियाँ पक्षसँग घटनाबारे निरन्तर सूचना आदानप्रदान भइरहेको जानकारी दिए।उनका अनुसार परराष्ट्र मन्त्रालयले चिनियाँ सरकारसँग सम्पर्क कायम राखेर त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिइरहेको छ। हालसम्म प्राप्त विवरणले ठूलो जोखिमको संकेत नगरे पनि सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै नागरिकलाई सावधानी अपनाउन सरकारले आग्रह गरेको छ।सरकारका प्रवक्ताले ठूलो बाँध फुटेको पुष्टि नभएको स्पष्ट पारे। उनका अनुसार ग्लेसियरमा आएको क्षतिका कारण पानीमा लेदो मिसिएर केही क्षेत्रमा सामान्यभन्दा बढी पानी बग्ने अवस्था बनेको हो।यसअघि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट चीनतर्फ रहेको ताल फुटेको जानकारी प्राप्त भएको बताएका थिए।सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका बस्तीमा सुरक्षाकर्मी परिचालन गरिएको छ। जोखिम हुन सक्ने क्षेत्रका नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने तथा अवस्थाको निगरानी गर्ने काम भइरहेको प्रशासनले जनाएको छ।