काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवालगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको मुख्य ध्यान उद्धार, राहत र नागरिकको ज्यान जोगाउनेतर्फ केन्द्रित गर्न आग्रह गरेका छन्।
शुक्रबार सार्वजनिक भिडियो सन्देशमार्फत घिसिङले विपद्का कारण प्रभावित भएका नागरिकलाई तत्काल सुरक्षित स्थानमा लैजान तथा पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउनुपर्ने बताएका हुन्।रसुवा आफ्नो व्यक्तिगत जीवन र कार्यक्षेत्रसँग लामो समयदेखि जोडिएको ठाउँ भएको उल्लेख गर्दै उनले चिलिमे र रसुवागढीलगायतका जलविद्युत् आयोजनामा पुगेको क्षतिले आफू दुःखी भएको बताए।घिसिङले भौतिक संरचना पुनःनिर्माण गर्न सकिने भए पनि मानवीय क्षति पूर्ति गर्न नसकिने भएकाले अहिले उद्धार र जीवनरक्षालाई सबैभन्दा माथि राख्नुपर्ने बताए। तत्कालको संकटपछि प्रभावित परिवारलाई पुनःस्थापित गर्दै उनीहरूको दैनिक जीवन सामान्य अवस्थामा फर्काउने काम अघि बढाउनुपर्ने उनको धारणा छ।
विपद्को सामना गर्न सरकारी संयन्त्र मात्रै पर्याप्त नहुने भन्दै उनले सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताए। विदेशमा रहेका नेपालीलाई समेत प्रभावित नागरिकका लागि आफ्नो क्षमताअनुसार सहयोग गर्न उनले अनुरोध गरेका छन्।यसैबीच, बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारको पुनःनिर्माणलाई सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने घिसिङको माग छ। पुनःनिर्माणका क्रममा आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उनले बताए।रसुवा, नुवाकोट र धादिङका प्रभावित नागरिकसँगै राष्ट्रसेवक, व्यवसायी र पर्यटकलाई धैर्य गर्न आग्रह गर्दै घिसिङले विपद्को यो कठिन समयमा सम्पूर्ण नेपालीको साथ प्रभावित समुदायसँग रहेको बताएका छन्।