काठमाडौं । प्रमुख प्रतिपक्षी नेता भीष्मराज आङ्देम्बेले बाढीका कारण विभिन्न स्थानमा फसेका नागरिकको उद्धारलाई तत्काल तीव्र बनाउन गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री गुरुङसँग भेट गर्दै आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा नागरिक समस्यामा परेको जानकारी आएको भन्दै राज्यको सम्पूर्ण संयन्त्र उद्धारमा परिचालन गर्नुपर्ने बताए।उनले विपद्को समयमा उद्धारका लागि विभिन्न ठाउँबाट सहयोगको आग्रह भइरहेको उल्लेख गर्दै सरकारको मुख्य ध्यान तत्काल नागरिकको ज्यान जोगाउनेतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे। आवश्यक परे आफूहरू पनि उद्धार तथा राहतमा सहयोग गर्न तयार रहेको उनले बताए।आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग समेत बाढी प्रभावितको उद्धारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्ने बताएका छन्। विपद्को अवस्थामा जीवित नागरिकलाई सुरक्षित स्थानमा पुर्याउनु सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भएको उनको भनाइ छ।उनका अनुसार रसुवाको स्याप्रुबेसी, टिमुरे र धुञ्चेलगायत क्षेत्र तथा नुवाकोटको कोलोनी र विदुर नगरपालिकाका विभिन्न वडामा नागरिक फसेको जानकारी प्राप्त भएको छ। सडक तथा भौतिक संरचनामा क्षति पुगेका कारण कतिपय स्थानमा हवाई माध्यमबाट उद्धार गर्नुपर्ने अवस्था रहेको उनले बताए।आङ्देम्बेले उद्धारलाई ढिलाइ नगरी तत्काल आवश्यक स्रोतसाधन परिचालन गर्नुपर्नेमा जोड दिँदै विपद्को समयमा प्रक्रियागत बैठकभन्दा प्रत्यक्ष उद्धार कार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
कांग्रेसका सांसद टेकबहादुर गुरुङले पनि बाढीका कारण अवरुद्ध सडकलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने बताए। सडक सम्पर्क पुनःस्थापित भएपछि राहत तथा उद्धार कार्य अझ प्रभावकारी हुने उनको भनाइ थियो।यस क्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बासना थापा, सांसदहरू खडकबहादुर बुढा र डा. शाहजान खातुन तथा कांग्रेस नुवाकोट सभापति रमेश महतसहितको टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो।टोलीले विदुर नगरपालिकाअन्तर्गत ढुङ्गे बजार, देवीघाटलगायत प्रभावित क्षेत्रमा पुगेर बाढीबाट भएको क्षति तथा स्थानीयको अवस्थाबारे जानकारी लिएको थियो।