काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपद्को अवस्था रहेकाले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई अत्यावश्यकबाहेक बिदा नलिन आग्रह गरेको छ।
मन्त्रालयले सार्वजनिक बिदाका दिनसमेत खोज, उद्धार तथा उपचारसम्बन्धी सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिएको हो।शुक्रबार प्रशासन तथा व्यवस्थापन शाखामार्फत जारी सूचनामा रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार, उद्धार तथा राहतका काम भइरहेको उल्लेख गरिएको छ।विपद्को समयमा जनशक्ति अभाव हुन नदिन मन्त्रालयअन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीको बिदा तथा काज व्यवस्थापनमा विशेष सावधानी अपनाउन भनिएको छ। अत्यावश्यक काम वा विशेष परिस्थितिबाहेक कर्मचारीलाई बिदा तथा काज स्वीकृत नगर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको छ।खोज तथा उद्धार एवं स्वास्थ्य उपचारसँग प्रत्यक्ष रूपमा जोडिएका कार्यालयका प्रमुख, फोकल पर्सन तथा जिम्मेवार अधिकारीलाई सार्वजनिक बिदाका दिन पनि आवश्यक समन्वयका लागि कार्यालयमा उपस्थित रहन भनिएको छ।अन्य कर्मचारीलाई समेत आवश्यकता परेको अवस्थामा तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ।त्यसैगरी अस्पतालहरूलाई बाढीपहिरोका कारण घाइते भएका बिरामीको उपचारमा कुनै कमी हुन नदिन आवश्यक स्वास्थ्य सेवा र जनशक्तिको व्यवस्थापन गर्न आग्रह गरिएको छ।मन्त्रालयले विपद्बाट प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य क्षेत्रका सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।