काठमाडौं । रसुवा र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा गरी २७० जनाको शव फेला परेको छ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारका साथै राहत वितरणलाई तीव्र बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।प्रहरीका अनुसार विपद् प्रभावित क्षेत्रमा अहिले ४ हजार ५० जना प्रहरी खोज, उद्धार तथा राहत कार्यमा खटिएका छन्। बाढीका कारण रसुवाका विभिन्न प्रहरी इकाइमा कार्यरत २८ जना प्रहरी भने अझै सम्पर्कमा आउन सकेका छैनन्।फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै १०८ जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी पश्चिम मा १५, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।रसुवामा कार्यरत सुरक्षाकर्मीहरूमध्ये केही सम्पर्कमा आए पनि धेरैको अवस्था अझै अज्ञात छ। इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन्। प्रहरी चौकी रसुवागढीमा रहेका ९ जनामध्ये एक जना मात्रै सम्पर्कमा आएका छन्।
त्यसैगरी, स्यापुर्बेँसी प्रहरी चौकीका ८ जनामध्ये ५ जना, अस्थायी प्रहरी पोष्ट मैलुङका ८ जनामध्ये ३ जना, बेत्रावती चौकीका १० जनामध्ये ९ जना र हाकु चौकीका ६ जनामध्ये ५ जना सम्पर्कमा आएको विवरण छ। बाँकी २८ प्रहरीको खोजी भइरहेको छ।बाढीबाट घाइते भएका ६६ जनामध्ये १४ जना उपचारपछि अस्पतालबाट घर फर्किसकेका छन्। अन्य घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा २० जना, वीर अस्पतालमा २ जना र नर्भिक अस्पतालमा २ जना उपचाररत छन्। वीरेन्द्र सैनिक अस्पताल र मनमोहन अस्पतालमा एक–एक जना घाइतेको उपचार भइरहेको छ।प्रभावित क्षेत्रमा बेपत्ता नागरिक तथा सुरक्षाकर्मीको खोजी र उद्धारलाई प्राथमिकतामा राखेर सुरक्षा निकायले आफ्नो अभियान जारी राखेको छ। राहत तथा उद्धार कार्यसँगै विपद्बाट प्रभावित परिवारसम्म आवश्यक सहयोग पुर्याउने प्रयाससमेत भइरहेको छ।