काठमाडौं ।रसुवाको उत्तरी क्षेत्रमा बुधबार आएको भोटेकोशी नदीको बाढीपछि काम तथा रोजगारीका लागि त्यहाँ पुगेका हुम्लाका १० जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार बेपत्ता हुनेमा आठ पुरुष र दुई महिला छन्।
हुम्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका नागरिक रोजगारीको सिलसिलामा रसुवा पुगेका थिए। बाढीपछि उनीहरूसँग सम्पर्क स्थापित हुन नसकेको प्रशासनले जनाएको छ।सम्पर्कविहीन हुनेमा खार्पुनाथ गाउँपालिका–१ का ३० वर्षीय जनक बुढा, अनिता रावत, उमेश बोहोरा तथा उमेश बोहोराकी श्रीमती र छोरा रहेका छन्। उमेश बोहोराकी श्रीमती र छोराको नाम भने हालसम्म खुल्न सकेको छैन।त्यस्तै, ताँजाकोट गाउँपालिका–२ का ४१ वर्षीय नहकुल शर्मा र धनराज जैसी पनि बाढीपछि सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ। नहकुल शर्मा रसुवामा भन्सार अधिकृतका रूपमा कार्यरत रहेको बताइएको छ।
सर्केगाड गाउँपालिका–८ राहदेउका तुलाराज बुढा र मानबहादुर ऐडी तथा चङ्खेली गाउँपालिका–१ का मनजित बुढाको अवस्था पनि अज्ञात रहेको छ।प्रशासनका अनुसार मनजित बुढाले बाढी आएको करिब आधा घण्टापछि सामाजिक सञ्जालमार्फत आफूहरू सुरक्षित रहेको संकेत दिएका थिए। त्यसपछि भने उनीसँग सम्पर्क हुन सकेको छैन।यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले रसुवा बाढीमा सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन्।उनले विपद्को समयमा नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर खोज तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकार तथा सम्बन्धित विपद् व्यवस्थापन निकायलाई आवश्यक पहल गर्न आग्रह गरेका छन्।बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन नागरिकको अवस्थाबारे थप विवरण प्राप्त हुने अपेक्षा गरिएको छ।