काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले देश गम्भीर विपत्तिमा परेका बेला सरकार उद्धार तथा राहतका कामलाई तीव्रता दिँदै अघि बढिरहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले विपत्तिको सामना गर्न सरकारसँगै सिङ्गो देश, विदेशमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्य भइरहेको बताएका हुन्।उनका अनुसार बिहीबार बिहान ६ः३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु गरिएको छ। हालसम्म १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकोप्टरसमेत उद्धारका लागि तयारी अवस्थामा राखिएका छन्। नेपाली सेनाको उद्धार टोलीले रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यस्तै, टनेलभित्र रहेका सात जना नेपाली नागरिकको समेत सफल उद्धार गरिएको उनले बताएका छन्।
प्रभावित क्षेत्रमा अत्यावश्यक राहत तथा उद्धार सामग्री पुर्याउने कामलाई पनि तीव्र बनाइएको छ। राहत सामग्रीसँगै जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम र ढुंगा काट्ने उपकरण पठाउने काम भइरहेको प्रधानमन्त्रीको भनाइ छ। प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन अस्थायी मोबाइल नेटवर्क र चार्जिङको व्यवस्था गर्ने तयारीसमेत भइरहेको छ। नुवाकोटमा अस्थायी शिविर निर्माण गरी खाना र पानीको व्यवस्था मिलाइएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ड्रोनमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन गर्ने काम अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीले बताएका छन्। हेलिकोप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने उनले जानकारी दिएका छन्। प्रधानमन्त्री शाहले विपत्तिको सामना गर्न राज्यका सबै संयन्त्र परिचालन भइसकेकाले प्रभावित नागरिकलाई धैर्य र संयम कायम राख्न आग्रह गरेका छन्। उनले सबै मिलेर विपद्को सामना गर्न र एकअर्कालाई सहयोग गर्नसमेत आह्वान गरेका छन्।