काठमाडौँ । नेपाली कांग्रेसले ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना गर्ने भएको छ। महिला आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन तथा देशको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन गर्न लागेको जनाएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरी आगामी भदौ ११ गते ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा एकदिने सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएको हो।
नेपाल महिला सङ्घको सहकार्यमा बिहान ८ः०० बजेदेखि अपराह्न ६ः०० बजेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा १० हजारभन्दा बढी सहभागीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। सम्मेलनमा विशेष गरी स्टार्टअप, एमएसएमई तथा एसएमई क्षेत्रमा कार्यरत महिला उद्यमीहरूबिच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र व्यावसायिक नेटवर्किङका विषयमा बहुआयामिक छलफल गरिने जनाइएको छ।
सम्मेलनसँगै कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत आयोजना गरिनेछ। जसले महिला उद्यमीहरूलाई आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता र सम्भावित साझेदारसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर मिल्नेछ। साथै बीटुबी तथा बीटुसी नेटवर्कलाई प्राथमिकता दिइने भएकाले महिला उद्यमीहरूलाई नयाँ ग्राहक, व्यावसायिक साझेदार र लगानीकर्तासँग जोडिन मद्दत पुग्ने विश्वास लिइएको छ।
सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयगत प्यानल सञ्चालन गरिनुका साथै ‘मेरो उद्यमशील यात्रा’ नामक स्टोरी टेलिङ सेसन पनि रहनेछ, जहाँ सफल महिला उद्यमीहरूले आफ्ना अनुभव र चुनौतीहरू साझा गर्नेछन्। यसका अलावा व्यवसाय दर्ता, वित्तीय पहुँच र सरकारी सेवासम्बन्धी जानकारी केन्द्रसमेत सञ्चालन गरिनेछ। सम्मेलनको समापनमा महिला उद्यमशीलताका प्रमुख सुझाव र प्रतिबद्धताहरूलाई समेटेर ‘सानेपा डिक्लियरेसन अन वमन इन्टरपेर्नरसिप’ घोषणा गरिने आयोजकले जनाएको छ।