काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तय भएको चीन भ्रमण पुनः स्थगित भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा यही अगस्टमा गर्ने भनिएको भ्रमण हाललाई स्थगन गरिएको पार्टी स्रोतले जनाएको छ।
यसअघि अगस्ट दोस्रो साताका लागि तय भएको भ्रमण आन्तरिक तयारी नपुगेको भन्दै एक महिना पछाडि अर्थात् सेप्टेम्बर दोस्रो साताका लागि सारिएको थियो। तर, सेप्टेम्बरको दोस्रो सातामा पनि सभापति लामिछाने चीन नजाने भएका छन्। स्रोतका अनुसार अब सभापति लामिछानेको साटो रास्वपाका सांसदहरूबिचबाट बनाइने टोली मात्र चीन भ्रमणमा जाने तय भएको छ।
केही समयअघि भारतको भ्रमण सकाएर फर्किएका सभापति लामिछानेले त्यसलगत्तै उत्तरी छिमेकी मुलुक चीनको भ्रमण गर्ने योजना बनाएका थिए। चीन भ्रमणका क्रममा सीपीसीका शीर्ष नेताहरू तथा चिनियाँ सरकारी टोलीसँग कूटनीतिक भेटघाट गर्ने तयारी भए पनि लामिछानेको भ्रमण भने तत्कालका लागि टरेको छ।