काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकार निष्पक्ष अनुसन्धानमा लागिरहेको जनाएको छ। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै मन्त्री गुरुङले अबोध बालिकामाथि भएको क्रूर अपराधले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको उल्लेख गरे ।
बालिका गुमाउनुपर्दाको पीडा सम्पूर्ण समाजकै भएको भन्दै गृहमन्त्रीले यस घटनालाई लिएर आमाहरू, महिलाहरू र आम नागरिकमा देखिएको आक्रोशलाई सरकारले पूर्ण रूपमा महसुस गरेको बताए । गृह प्रशासन घटनाको पहिलो दिनदेखि नै सक्रिय रहेको र मुख्य आरोपितहरूलाई पक्राउ गरी अनुसन्धान जारी राखिएको उनको भनाइ छ। साथै, घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट भएको भनिएको लापरबाहीबारे समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको र पीडित परिवारको थप जाहेरीका आधारमा अन्य चार जनालाई समेत पक्राउ गरी सोधपुछ भइरहेको उनले जानकारी दिए ।
दोषीलाई कडा सजायको माग गर्दै नागरिक स्तरबाट उठेको आक्रोश स्वाभाविक भए पनि नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारण ‘तत्काल मृत्युदण्ड’ दिने कानुनी अवस्था नरहेको गृहमन्त्रीले बताए । यद्यपि बालबालिका तथा महिलाविरुद्ध हुने यस्ता गम्भीर अपराधमा कानुनी बाधा हटाउन सरकार गम्भीर रहेको र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आवश्यक कानुनी संशोधनको मस्यौदा तयार गरी संसदीय प्रक्रियामा लैजाने तयारी गरिरहेको उनले बताए ।
गृहमन्त्री गुरुङले यस्तो संवेदनशील घटनालाई राजनीतिकरण नगर्न र अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगर्न आग्रह गरे । उनले आम नागरिकलाई आफ्नो आक्रोशलाई न्यायको शक्तिमा बदल्दै कानुनी अनुसन्धानको प्रक्रियामा पूर्ण सहयोग गर्न अपिल समेत गरे ।