काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय तथा निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन जना प्रदेशसभा सदस्यलाई १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार प्रदेशसभा सदस्यहरू राजु बिष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने?’ भन्दै अनुशासन समितिले १२ घण्टे स्पष्टीकरण सोधेको हो।
यसअघि राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको आधिकारिक नीतिविपरीत निजी लेटरप्याड प्रयोग गरी बागमती प्रदेश सरकारलाई समर्थन जनाएका थिए। सो कदमपछि राप्रपाले थापाको पार्टी साधारण सदस्यता निलम्बन गर्नुका साथै प्रदेशसभा सदस्य (सांसद) पदबाट पदमुक्त गर्नेसम्मको निर्णय गरी सोको जानकारी गराइसकेको थियो।
पार्टी नेतृत्व र केन्द्रीय समितिको स्पष्ट निर्देशनलाई बेवास्ता गर्दै प्रदेश सरकारमा सहभागी भई मन्त्री पदको शपथ ग्रहण गरेपछि राप्रपाले तीनै जना सांसदमाथि कडा कदम चालेको हो। तोकिएको १२ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण नआएमा वा पार्टी निर्णय उल्लङ्घन गरेको ठहर भएमा उनीहरूमाथि थप अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाउने चेतावनी राप्रपाले दिएको छ।