काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो साङ्गठनिक गतिविधि र चुनावी तयारीलाई तीव्र बनाएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार छनोटको रूपरेखा अनुमोदन गर्नुका साथै ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने र पार्टीका विभिन्न रिक्त पदहरूमा मनोनयन गर्ने महत्त्वपूर्ण निर्णयहरू गरेको हो।
महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार बैठकले आगामी स्थानीय निर्वाचनका लागि तयार पारिएको ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ लाई प्राप्त सुझावहरू समेटेर सर्वसम्मत अनुमोदन गरेको छ। बैठकले केन्द्रीय उम्मेदवार छनोट समितिमा रहन इच्छुक केन्द्रीय सदस्य तथा सांसदहरूबाट नामावली माग गर्ने निर्णय गरेको छ। उम्मेदवार छनोट रूपरेखा र निर्वाचनसम्बन्धी विषयमा अभिमुखीकरण गर्न पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई देशभरका ४६० गाउँपालिकामा खटाइने भएको छ, जसको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्नेछन् ।
रास्वपाले आफ्ना जनप्रतिनिधिले सन्तोषजनक काम नगरे फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ को नीतिगत अवधारणालाई विस्तृत रूप दिन महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ। मधेस प्रदेशमा साङ्गठनिक अवस्थाको मूल्याङ्कन गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको छ, जसमा मधेसबाहेकका प्रदेशका केन्द्रीय सदस्यहरू मात्र रहनेछन्। साथै, पार्टीका विचार प्रवाह गर्न आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि भएको छ।
पार्टीको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै सह–महामन्त्रीमा पुरुषोतम सुप्रभात यादव, कोषाध्यक्षमा डा. मनोहर प्रधान र सह–कोषाध्यक्षमा बसुमाया तामाङलाई मनोनयन गरिएको छ। प्रवक्ताको जिम्मेवारी सांसद जगदीश खरेलले पाएका छन् भने सह–प्रवक्तामा डा. नमिता यादव र सुरेन्द्र चौधरी चयन भएका छन् । बैठकले पूर्वमन्त्रीहरू सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावललगायत ९ जनालाई नयाँ केन्द्रीय सदस्यका रूपमा मनोनयन गरेको छ।
महत्त्वपूर्ण विभागहरूको नेतृत्वअन्तर्गत संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्य चयन भएका हुन् । प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदी, यसैगरी गणेश पराजुली, विराजभक्त श्रेष्ठ, इन्दिरा राना मगर, मनिष झा, समिक्षा बास्कोटासहित १३ जनालाई पार्टी सचिवालय सदस्यमा मनोनयन गरिएको छ।