काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ।
बैठकमा आगामी स्थानीय निर्वाचन, पार्टीको संगठनात्मक व्यवस्थापन तथा विभिन्न दस्तावेज निर्माणका विषयमा छलफल भइरहेको छ। बैठकमा केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखको मनोनयनसम्बन्धी प्रस्ताव पेस हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन्। त्यस्तै, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा–२०८३ अनुमोदन गर्ने विषय पनि बैठकको प्रमुख एजेन्डामा रहेको छ।
‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने तथा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयन गर्ने विषयमा समेत छलफल हुने बताइएको छ। बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पनि छलफलका लागि राखिएको छ।
यसैगरी, पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावसमेत बैठकमा पेस हुने जनाइएको छ। रास्वपाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया र संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने तयारीस्वरूप यी विषयलाई बैठकको एजेन्डामा राखेको हो। यसैबीच, रास्वपा केन्द्रीय समिति बैठक चलिरहँदा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भने मुस्ताङ भ्रमणमा निस्किएका छन्।