काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी प्रधान कार्यालयमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोप लगाउँदै प्रहरीका स्रोत–साधन खरिद प्रक्रियाबारे उठेका प्रश्नको छानबिन गर्नुपर्ने बताएका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरीको खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे समितिले मागेका कागजात उपलब्ध भए–नभएकोबारे प्रश्न गरे। उनले समितिले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी विवरण माग गरेको भए पनि त्यसबीचमा प्रहरीले करोडौँ रुपैयाँका टेन्डर आह्वान गरेको बताए। ‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। यसअघि उठाएको प्रश्नमा म अडिग छु र आफ्नो भनाइमा दृढ छु,’ उनले भने। आफूमाथि मानमर्दनको आरोप लागे अदालत जानसमेत उनले सम्बन्धित पक्षलाई चुनौती दिए। सार्वभौम संसदीय समितिको बैठकमा आरोप–प्रत्यारोपमा उत्रिनुभन्दा कानुनी प्रक्रियामा जानुपर्ने उनको भनाइ थियो। ‘कहीँ कतै मेरो भनाइबाट मानमर्दन भएको लाग्छ भने अदालत गएर मुद्दा हाल्नुस्। म कठघरामा उभिएर जवाफ दिन तयार छु,’ सुनारले भने, ‘तर सार्वभौम समितिमा आएर टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन।’
सुनारले गैरसरकारी संस्था (एनजिओ) का गतिविधिमाथि पनि प्रश्न उठाउँदै सामाजिक सद्भाव बिगार्ने, जातीय द्वन्द्व तथा साम्प्रदायिकता बढाउने गतिविधि भइरहेको आरोप लगाए। राज्यको स्वीकृति लिएर सञ्चालन हुने संस्थाहरूले समाजमा विभाजन ल्याउने गतिविधि गर्न नहुने उनको भनाइ थियो। उनले जात र धर्मका नाममा समाज भड्काउने काम रोक्नुपर्ने बताउँदै दलित तथा अन्य कमजोर वर्गलाई अगाडि सारेर राज्यलाई अस्थिर बनाउने गतिविधि स्वीकार्य नहुने बताए। विदेशी सहयोगका नाममा आउने रकम लक्षित उद्देश्यमा खर्च हुनुपर्नेमा पनि उनले जोड दिए। दलित तथा गरिबका नाममा विनियोजन हुने बजेट खर्च नभई फ्रिज हुन नहुने बताउँदै सुनारले राज्य वा वैदेशिक सहयोगबाट प्राप्त रकम लक्षित समुदायसम्म पुग्नुपर्ने बताए। उनले दलित र गरिबका नाममा ठूलो आर्थिक चलखेल भइरहेको दाबीसमेत गरे।
त्यस्तै, वैदेशिक सहयोगमा निर्माण भएका भौतिक पूर्वाधारको प्रभावकारितामाथि पनि उनले प्रश्न उठाए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण दिँदै निर्माणमा ठूलो लगानी भए पनि त्यसअनुसार उपयोग हुन नसकेको उनले बताए। ‘अन्तर्राष्ट्रिय सहायतामा विमानस्थल बन्ने तर विमान नउड्ने, बसपार्क बन्ने तर बस नचल्ने अवस्था हुनु हुँदैन। राज्यलाई ऋणको भारी बोकाएर मात्रै अघि बढ्न सकिँदैन,’ उनले भने। सुनारले सार्वजनिक स्रोतको उपयोग, वैदेशिक सहायता तथा विकास निर्माणका आयोजनामा पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।