काठमाडौँ । प्रतिनिधिसभाका विभिन्न नौ वटा विषयगत समितिहरूको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार सम्बन्धित मन्त्रालयका गतिविधि, विचाराधीन विधेयक, वार्षिक प्रतिवेदन तथा समसामयिक राष्ट्रिय सरोकारका विषयमा छलफल गर्न समितिहरूको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आज बिहान १०ः०० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ।
यसैगरी, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ। राष्ट्रियसभातर्फको विधायन व्यवस्थापन समितिको बैठक भने अपराह्न १ः०० बजे बस्ने तय भएको छ।
संसदीय समितिहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र पर्ने मन्त्रालयका कामकारबाही, संसद्मा दर्ता भई दफावार छलफलका लागि आएका विधेयकहरू र नागरिक सरोकारका विषयमा छलफल गरी सरकारलाई आवश्यक निर्देशन तथा सुझाव दिने कार्यक्रम रहेको छ।