सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो। कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ जना सांसद उपस्थित रहेकोमा विश्वासको मतको पक्षमा २१, विपक्षमा १३ र तटस्थमा २ मत परेको छ। कर्णालीमा सरकार बनाउन वा टिकाइराख्न न्यूनतम २१ जना सांसदको समर्थन आवश्यक पर्दछ।
सभामुख नन्दा गुरुङले मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको जनाउँदै उनले विश्वासको मत प्राप्त गरेको घोषण गरेकी हुन् । नेकपा (एमाले) को समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका प्रदेश संसदीय दलका नेता शाही गत १२ साउनमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको २३ औँ दिनमा उनले प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको तीन सातासम्म एक जना पनि मन्त्री नियुक्त नगरी एक्लै क्याबिनेट चलाएर विश्वासको मत लिने शाही पहिलो मुख्यमन्त्री बनेका छन् । सत्ता साझेदार दल नेकपा एमालेसँग मन्त्रालय भागबन्डामा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको भए पनि विश्वासको मत लिनुअघि बुधबार दिउँसो दुई दलबिच मन्त्रालय बाँडफाँडको विषय टुङ्गो लागेको छ।
नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार दुई पार्टीका प्रदेश संसदीय दलबिच ६ बुँदे सहमति भएको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक तीन वटा मन्त्रालय र एमालेले बाँकी मन्त्रालय लिने तय भएको छ। विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री शाहीले सत्ताको अङ्कगणितभन्दा कर्णालीको गरिबी, अशिक्षा र भौगोलिक विकटतालाई मुख्य प्रतिपक्ष मान्दै सबै दलहरूलाई समृद्धिका लागि सहकार्य गर्न अपिल गरेका छन् ।