काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै मुलुकमा ‘बालेन्द्रतन्त्र’ हाबी भएको आरोप लगाएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार लोकतान्त्रिक मूल्य र राष्ट्रियताको सवालमा गम्भीर रूपमा चुकेको दाबी गरे।उनले नेपालको लोकतान्त्रिक इतिहासमै अहिलेको समय चुनौतीपूर्ण रहेको उल्लेख गर्दै वर्तमान शासन व्यवस्थालाई विगतका ‘महेन्द्रतन्त्र’ र ‘ज्ञानेन्द्रतन्त्र’सँग तुलना गरे।‘२०१७ सालमा महेन्द्रतन्त्र र २०६१ सालमा ज्ञानेन्द्रतन्त्र आएजस्तै अहिले मुलुकमा बालेन्द्रतन्त्र स्थापित भएको छ,’ बादलले भने।उनले प्रधानमन्त्री शाह नेतृत्वको सरकार अधिनायकवादतर्फ अघि बढिरहेको आरोपसमेत लगाए। सरकारका गतिविधिले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयमा थप चुनौती सिर्जना गरेको उनको दाबी थियो।
नेता बादलले प्रधानमन्त्री शाहले यसअघि प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाए। प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको उल्लेख गरेको विषयलाई उनले गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा दिए।नेपालको राष्ट्रियता र सीमा सुरक्षाका विषयमा सरकार स्पष्ट हुनुपर्ने भन्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले गम्भीर प्रश्न खडा गरेको बताए।रास्वपाभित्र देखिएको राजनीतिक गतिविधि र पछिल्ला घटनाक्रमलाई जोड्दै बादलले राष्ट्रिय सुरक्षामाथि समेत प्रश्न उठाए।रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री शाहको संसद् उपस्थितिबीच सम्बन्ध रहेको हुन सक्ने आशंका व्यक्त गर्दै उनले सरकारका गतिविधिमाथि थप निगरानी आवश्यक रहेको बताए।‘एकातिर भारतमा रास्वपा सभापतिले भव्य स्वागत पाउनु र अर्कोतिर नेपालमा प्रधानमन्त्रीले आफ्नै भूमि मिचिएको स्वीकार्नु रहस्यमय छ,’ भन्दै उनले ‘कतै नेपाल सिक्किमीकरणको प्रक्रियामा त छैन’ भन्ने प्रश्न उठाए।बादलले सरकारका गतिविधिले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथि प्रश्न उठाउने अवस्था सिर्जना गरेको भन्दै सबै राजनीतिक दल तथा नागरिकलाई यस विषयमा सचेत हुन आग्रह गरे।