काठमाडौं । गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भनेर दिएको अभिव्यक्तिलाई मजाकका रूपमा बुझ्नुपर्ने बताएका छन्।
बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै गुरुङले आफूले मतदातासँग मजाक गरेको बताएका हुन्। ‘आफ्ना मतदातासँग जोक गर्न हुँदैन त?’ भन्दै उनले सञ्चारकर्मीको प्रश्नमा प्रतिक्रिया दिए। केही दिनअघि आफ्नो निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्ने क्रममा गुरुङले निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धताअनुसार स्वास्थ्य सामग्री उपलब्ध नभएको भन्दै मतदाताबाट गुनासो आएको बताएका थिए। सोही क्रममा उनले ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति दिएको विषय चर्चामा आएको थियो। उनको उक्त अभिव्यक्तिलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका बेला गृहमन्त्री गुरुङले भने त्यसलाई गम्भीर अभिव्यक्तिका रूपमा नभई मजाकका रूपमा लिएको स्पष्ट पारेका छन्।