काठमाडौं । पूर्वप्रधानमन्त्री डा : बाबुराम भट्टराईले आफूलाई राष्ट्रपति बन्ने कुनै इच्छा नरहेको स्पष्ट पारेका छन्।
नयाँ पुस्तालाई अघि बढाउने विषयमा आफ्नो धारणा सार्वजनिक गर्दा त्यसलाई पदको आकांक्षासँग जोडेर हेर्न नहुने उनको भनाइ छ।बुधबार गृह जिल्ला गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आफू यसअघि नै कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेको व्यक्ति भएकाले राष्ट्रपतिको पदप्रति लोभ नरहेको बताए।उनले अहिलेको व्यवस्थामा राष्ट्रपतिको भूमिका कार्यकारी नभएको उल्लेख गर्दै आफू भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको स्पष्ट पारे।म त प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने पक्षको मानिस हुँ,’ भट्टराईले भने।
नयाँ पुस्ताको राजनीतिलाई समर्थन गर्दा आफू राष्ट्रपति बन्न खोजेको भन्ने चर्चा हुने गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले आफ्नो उद्देश्य पद नभई राजनीतिक विचार र बहस अघि बढाउनु रहेको बताए।भट्टराईले विगतमा पनि आफूले कुनै विषयमा धारणा राख्दा त्यससँग सम्बन्धित पद खोजेको आरोप लाग्ने गरेको स्मरण गरे। आफ्नो विचारसँग जोडेर कहिले मेयर, कहिले पुनर्निर्माण प्राधिकरणको नेतृत्व र कहिले बूढीगण्डकी आयोजना प्रमुख बन्न खोजेको आरोप लगाइएको उनले बताए।उनका अनुसार कुनै विषयमा सुझाव वा धारणा राख्दैमा त्यसबाट व्यक्तिगत रूपमा कुनै पद प्राप्त गर्ने चाहना राखेको अर्थ लगाउनु उचित हुँदैन।कुनै पनि विषयमा विचार दिँदैमा त्यसबारे पद खोजेको हुँदैन भन्ने बुझ्नुपर्छ,’ उनले भने।भट्टराईले आफूले नयाँ पुस्ताको नेतृत्व र राजनीतिक परिवर्तनबारे निरन्तर बहस गर्दै आएको भन्दै त्यसलाई व्यक्तिगत पदको आकांक्षासँग नजोड्न आग्रह गरेका छन्।